09/07/2026
नेपाल घरेलु तथा साना उद्योग महासंघ
केन्द्रीय कार्यालय, माइतीघर, काठमाडौँ
प्रेस विज्ञप्ति
आदरणीय पत्रकार साथीहरू
नमस्कार
नेपाल घरेलु तथा साना उद्योग महासंघको २६औँ राष्ट्रिय महाधिवेशन तथा केन्द्रीय महिला उद्यमी समितिको २३ औँ राष्ट्रिय महिला उद्यमी सम्मेलनका बारेमा सूचना सम्प्रेषण गर्ने उद्देश्यले आयोजित यस पत्रकार सम्मेलनमा पाल्नुहुने सम्पूर्ण पत्रकार मित्रहरूलाई हार्दिक स्वागत अभिवादन गर्दछौँ ।
आदरणीय मित्रहरू
गतवर्ष सम्मको तथ्यांकले गत आर्थिक वर्षको अन्त्य सम्म कुल ६ लाख ४८ हजार ५७७ लघु घरेलु तथा साना उद्योग दर्ता भएका र करिब ५० प्रतिशतको हाराहारीमा सञ्चालनमा रहेकै देखिन्छ । अहिले मुलुकमा कृयाशिल रहेका करिब ९५ प्रतिशत भन्दा बढी उद्योगहरू लघु, घरेलु तथा साना उद्योगहरू नै रहेका छन् । यस्ता उद्योगले अर्थतन्त्रमा कुल ग्राहस्थ उत्पादनको ६ प्रतिशत जति अंश योगदान गरिरहेका छन् । यो बाहेक झण्डै ५ लाख परिवार अनौपचारिक रूपमा लघु उद्यम व्यवसायमा संलग्न रहेको अनुमान छ । यी सबैको गणना गर्दा लघु घरेलु तथा साना उद्योगले मुलुकको कुल गार्हस्थ उत्पादनमा झण्डै १३ प्रतिशत योगदान पुर्याइरहेका छन् ।
झण्डै ३५ लाख जनशक्तिलाई रोजगारी उपलब्ध गराई रहेको यस क्षेत्रले मुलुकको निर्यात व्यापारको आधा भन्दा बढी अंशमा योगदान पुर्याइरहेको छ । यति हुँदाहुँदै पनि यो क्षेत्र अझै पनि उपेक्षित रहि आएको छ । वर्तमान संघीय संरचनामा मुलुक प्रवेश गरेपछि यो क्षेत्र र सरकारका ३ वटै तहका बीच दुरी घट्नुको साटो अझ बढीरहेको छ । कोभिड महामारी पछि थला परेको उत्पादनमूलक व्यवसायलाई पुनरुत्थान गर्ने ठोस कार्यक्रम दिन नसक्दा थुप्रै उद्यमहरूको उठिबास हुने अवस्था छ भने विश्व बजारमा देखा परेको आर्थिक मन्दीको प्रभाव र असर न्यूनिकरण गर्ने कुनै पनि प्रभावकारी योजना ल्याउने तर्फ सरकार सचेत नहुँदा हाम्रा साना उद्योग व्यवसायको हालत दिनानुदिन खस्कदो अवस्थामा छ । आम उद्यमीको खस्किएको मनोबल उकास्दै तुलनात्मक लाभको क्षेत्र पहिचान गरी स्टार्ट अप परियोजनाहरू स्थापना र सञ्चालन गर्न, सेवा क्षेत्रमा सिर्जित अवसरहरू पहिचान गरी समग्र उद्योग क्षेत्रमा युवा आकर्षण वृद्धि गर्न तथा लगानी र नीति नियममा सुधार र सहजिकरण गरी उद्योग मैत्री वातावरण सिर्जना गर्न सरकार र निजी क्षेत्र हातेमालो गरी अघि बढ्नुको विकल्प छैन ।
मित्रहरू
नेपाल घरेलु तथा साना उद्योग महासंघ २०४७ सालमा स्थापना भएको लघु घरेलु तथा साना उद्योगीहरूको प्रमुख छाता संस्था हो । यस अन्तर्गत अहिले ३५० भन्दा बढी पालिकाहरुमा पालिका संघ, ७७ वटै जिल्लामा जिल्ला संघ र ७ वटै प्रदेशमा प्रदेश संघहरू कार्यरत छन् । यसका संगसंगै केन्द्रमा केन्द्रिय महिला उद्यमी समिति, ६१ बटा जिल्लामा जिल्ला महिला उद्यमी समिति र झण्डै ३०० पालिकामा पालिका महिला उद्यमी समिति क्रियाशिल रहेका छन् । यस अन्तर्गत झण्डै ५० हजार उद्यमीहरू महासंघका प्रत्यक्ष सदस्य रहेका छन् भने करिब १५ हजार महिला उद्यमी संजालमा जोडिनु भएको छ । यो बाहेक महासंघमा २७ बटा बस्तुगत संघहरू संस्थागत सदस्यको रुपमा रहेका छन् भने एसोसिएट, उत्पादनमूलक सहकारी र वैकल्पिक उर्जा क्षेत्रका महासंघ, परिसंघ र व्यवसायी समेत गरी थप हजारौँ व्यवसायीहरू प्रत्यक्ष र अप्रत्यक्ष रूपमा यस महासंघ संग जोडिनु भएको छ ।
हामीले यस पटकको केन्द्रीय महाधिवेशन गत आषाढ २१ र २२ गते नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान ललितपुरमा आयोजना गरी सम्पन्न गरेका छौँ । महासंघको विधानले निर्दिष्ट गरे बमोजिम मनोनित बाहेकका दुबै केन्द्रीय कार्य समितिका पदहरूमा महासंघ तर्फ श्री शोभा गुरुङको अध्यक्षता तथा श्री रीता अवालको अध्यक्षतामा महिला उद्यमी समिति निर्वाचित भएको छ । यो महाधिवेशनमा हामीले लघु घरेलु तथा साना उद्योग र महिला उद्यमशिलताको क्षेत्रमा सुधार गर्नु पर्ने र स्थापित गर्नुपर्ने सकारात्मक नीति नियम, कानून र नियमनहरूको बारेमा छलफल गरि ठोस निष्कर्षमा पुग्ने योजना समेत तय गरेका छौँ । नव निर्वाचित कार्य समितिले आगामी दिनमा आन्तरिक क्षमता विकास सहित ठोस कार्ययोजना तयार गरी सरकार संग सहकार्य गरी लघु घरेलु तथा साना उद्योग क्षेत्रको प्रवर्धन र विकासको क्षेत्रमा नीतिगत र कार्यक्रमिक सुधारको दिशामा अग्रसर हुने प्रतिवद्धता समेत व्यक्त गर्दछौँ ।
आदरणीय पत्रकार मित्रहरू
आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्न, मुलुक भित्र अन्तरिक रोजगारी सिर्जना गर्न, स्थानीय कच्चापदार्थको सदुपयोग गर्न तथा निर्यात व्यापार अभिवृद्धि गर्नका लागि लघु, घरेलु तथा साना उद्योगको विकास एक मात्र विकल्प रहेको तथ्यलाई व्यापक प्रचार प्रसार र कभरेज सहित आम जनमानस, सम्पूर्ण उद्योगी व्यवसायी र ३ वटै तहका सरकारहरूको ध्यानाकर्षण गराउन तपाईहरूको महत्वपूर्ण सहयोगको अपेक्षा गर्दछौँ ।
छोटो समयमा हाम्रो सूचनालाई आधार मानी यहा उपस्थित भई दिनु भएकोमा तपाईहरु पति महासंघ हार्दिक कृतज्ञता ज्ञापन गर्दछ ।
धन्यवाद
शोभा गुरुङ
अध्यक्ष
तथा सम्पूर्ण केन्द्रिय कार्यसमिति र केन्द्रिय महिला उद्यमी समिति परिवार
नेपाल घरेलु तथा साना उद्योग महासंघ