27/08/2026
~श्रेष्ठ सिरपाः पुरस्कारको ऐतिहासिक रेकर्ड~
#सन्दर्भ : भाद्र १० |
वि.सं. २०७८ साल भाद्र १० गतेका दिन नेपाल भाषा (नेवारी) र नेपाली साहित्यका प्रतिष्ठित आधुनिक कवि पूर्ण वैद्यको ८१ वर्षको उमेरमा ललितपुरको निदान अस्पतालमा निधन भएको थियो।
नेपाल भाषा साहित्यमा आधुनिकता भित्र्याउने अग्रणी स्रष्टा पूर्ण वैद्यको जन्म पिता काजीबहादुर र माता देवकुमारीका सुपुत्रका रुपमा वि सं १९९७ साल जनै पूर्णिमाको दिन भक्तपुरको चोछें टोलमा भएको थियो । उनको वास्तविक नाम पूर्णबहादुर वैद्य थियो। वि.सं. २०१४-१५ सालतिर प्रसिद्ध कवि बासु शशीले उनको कविता सम्पादन गर्ने क्रममा अनुवाद गर्दै बनारसबाट निस्कने 'उदय' पत्रिकामा छाप्न पठाउँदा संक्षिप्त पारेर 'पूर्ण वैद्य' राखिदिएका थिए, जुन नामले नै उनलाई स्थापित गरायो ।
नेपालभाषाका आधुनिक तथा गद्य कविता र निबन्धहरुमा कलम चलाएका उनका प्रमुख कृतिहरूमा 'सरासू' (२०२१) र 'लः लः खः' (२०५२) आदि छन् । कविता सङ्ग्रह 'सरासू' का लागि उनले नेपालभाषाको प्रतिष्ठित श्रेष्ठ सिरपाः पुरस्कार प्राप्त गरेका थिए । 'श्रेष्ठ सिरपाः' नेपाल भाषा साहित्यको अत्यन्तै प्रतिष्ठित पुरस्कार हो । साहित्यमा पानीका विम्बहरू धेरै प्रयोग गर्ने कविका रूपमा परिचित उनको चर्चित कृति 'लः लः खः' मा संग्रहित ८४ वटा कविताहरू पूर्ण रूपमा पानीको गहिराइ, स्वच्छता र यसको दर्शनमा आधारित छन्।