19/03/2022
Notice regarding E Passport .
राहदानीको लागि निवेदन कसरी दिने ?
यसको लागि अनिवार्यरुपमा अनलाइनबाट मिति र समय बुक गर्नु पर्दछ । छिटो बुकिग गर्नेको पालो पहिले आउँछ ।तल उल्लेखित लिंक विद्युतीय राहदानीको लागि अनिवार्यरुपमा फाराम भरी अनलाइनबाट मिति र समय बुक गर्नु पर्दछ । छिटो बुकिङ्ग गर्नेको पालो पहिले आउँछ । बुकिङ्ग गरेको मिति र समय भन्दा अगाडि आएर सीधै लाइन बसेको आधारमा सेवा उपलब्ध हुने छैन । आफ्नो बुकिङ्गको दिन तोकिएको समयमा मात्र आउनु पर्छ । जस्तै, कसैले १० बजे र कसैले ११ बजेको समय लिएको भए पहिले १० बजेको समय लिएका सेवाग्राहीहरूको काम सकेपछि मात्र ११ बजेको समय बुकिङ्ग भएका सेवाग्राहीहरूलाई सेवा प्रदान हुनेछ । हरेक घण्टा घण्टाको बुकिङ्ग हुने, एक घण्टामा करिब दुई सय जना सेवाग्राही हुने र हाल विभागमा २२ वटा लाइभ इनरोलमेन्ट अर्थात तस्विर खिच्ने ठाउं भएकोले धेरै लाइन बस्नै आवश्यक छैन । अहिले यो ब्यवस्था कडाइका साथ लागू गरिएकोले तोकिएको मिति र समयमा मात्र आउनु होला ।
सोही दिनको बुकिङ्ग भएका सेवाग्राहीहरूलाई पहिलो प्राथमिकता दिइ विभागले प्रतिदिन राहदानी जारी गर्न सक्ने क्षमताको आधारमा स्वास्थ्य उपचार जस्ता अत्यावश्यक काम र प्रमाणको आधारमा मात्र अत्यन्त सीमित सेवाग्राहीहरूलाई सेवा उपलब्ध गराउन सक्नेछ ।
नेपालमा फाराम बुझाउनेहरुको हकमा ठाउँ छनौट गर्दा राहदानी विभाग (DOP) वा जिल्ला वा तोकिएका इलाका प्रशासन छान्न सकिने र जिल्ला वा इलाका प्रशासन कार्यालयमा निवेदन दिंदा आफूले नागरिकता लिएको वा बसाइसराइ गरेको जिल्लामा मात्र निवेदन दिन सकिने छ । पुरानो मेशिन रिडेबल राहदानी हुनेहरुले नबीकरण (Renewal) र पहिलो पटक राहदानी बनाउने वा हस्तलिखित हुनेहरुले नयाँ (New) भन्ने Option छानेर फाराम भर्नु होला । फाराम भर्नुपूर्व तल उल्लिखित महत्वपूर्ण सूचनाहरू अनिवार्य पढ्रनुहुन अनुरोध छ ।
विद्युतीय राहदानीको लागि फारम भर्न यो लिंक खोल्नुहोला ।
https://emrtds.nepalpassport.gov.np
जान्नै पर्ने थप कुराहरु अनिवार्य पढ्नुहोला
जिल्ला प्रशासन कार्यालय वा अन्य कुनै निकायको सिफारिस वा पत्र लिएर आएमा विभागबाट छिटो राहदानी बनाउन सकिन्छ वा सकिदैन ?
सकिदैन । आफूले बुक गरेको मिति र समयमा मात्र आउनै पर्ने हुनाले पछिको बुकिङ्ग भएका सेवाग्राहीलाई अगाडि ल्याएर सेवा प्रदान गर्न सकिदैन । त्यसैले जिल्लाबाट पहिले मिति र समय बुक गरेर सोही मिति र समयमा मात्र विभागमा आउनु पर्ने हुन्छ । यसरी आएमा कुनै सिफारिस आवश्यक पर्दैन । स्वास्थ्य उपचार जस्तो अत्यावश्यक अवस्थामा मात्र निकै सीमित सेवाग्राहीलाई विभागको क्षमताले भ्याएमा सेवा प्रदान हुन सक्छ ।
फाराम भर्दा धेरै सेवाग्राहीहरुले गर्ने गरेका त्रुटीहरु के के हुन?
निवेदनका प्रकार गलत छनौंट: जस्तै पहिलो पटक राहदानी लिन, नवीकरण गर्न, हराएको बिग्रेको सट्टामा लिन (निवेदनका प्रकार गलत छनौंट गरी फाराम भरेमा त्यो फारामले काम गर्दैन । पुनः भर्नु पर्नेछ ) ।
विवरण गलत भरेको: पुराना यन्त्रबाचक राहदानी भएको तर विवरण उल्लेख नगरेको । प्रणालीबाट सबै कुरा सबै कुरा भिडान हुने हुनाले कुनै विवरण लुकाउनु हुँदैन ।
नागरिकता नम्बर गलत टाइप गरेको ।
गलत पृष्टको राहदानी छनौट गरेमा: ३४ र ६६ पृष्ठका राहदानीको दस्तुर फरक फरक छ । विभागमा निवेदन दिंदा ३४ पृष्ठको राहदानीको १२ हजार र ६६ पृष्ठको राहदानीको २० हजार दस्तुर लाग्छ । जिल्ला र नियोगमा निवेदन दिंदा छुट्टै दस्तुर लाग्छ । १२ हजार दस्तुर तिर्न चाहेको तर ६६ पृष्ठ छनौंट गरी फाराम भरेमा त्यो फारामले काम गर्दैन । पुनः भर्नु पर्नेछ ।
जन्मस्थान गलत उल्लेख गरेको : आफू जन्मेको जिल्ला लेख्ने ठाउँमा नागरिकता जारी गरेको जिल्ला छनौट गरी त्रुटी हुने गरेको । जुन जिल्लामा आफू जन्मेको हो सोही जिल्ला उल्लेख गर्नु पर्दछ ।
जरुरी परेमा सम्पर्क गर्ने विवरणः आफ्नै नाम ठेगाना लेख्नु हुँदैन । परिवारका सदस्य वा नातेदारको लेख्नु पर्दछ ।
नाम र थर लेख्दा त्रुटी : नाममा शुरुको नाम र बीचको नाम लेख्नु पर्दछ । थरमा थर मात्र लेख्नु पर्दछ । जस्तै राम बहादुर मगर नाम भएमा नाममा राम बहादुर र थरमा मगर लेख्नु पर्दछ । नाम राम बहादुर घर्ती मगर भएमा नामको महलमा राम बहादुर र थरको महलमा धर्ति मगर लेख्नु पर्दछ ।
नामको स्पेलिङ्ग गलत हुने गरेको : आफ्नो नागरिकता, आफूले अध्ययन गरेको प्रमाणपत्र तथा पुरानो राहदानीमा उल्लेख भएको नामको स्पेलिङ्गलाई ख्याल गरेर टाइप गर्नु पर्दछ ।
फाराम भरी सकेपछि निवेदनको प्रकार र आफूले चाहे भन्दा फरक पृष्ठ संख्याको राहदानी छनौट गरेको अवस्था बाहेक अन्य विवरणहरुमा सामान्य त्रुटी भएमा रुजु अधिकारी वा लाइभ इनरोलमेन्ट गर्ने अधिकारीले संशोधन गर्न सक्नेछन । तर तस्विर खिची फाराम ठीक छ भनेर हस्ताक्षर गरेपछि कुनै विवरण संशोधन हुने छैन । यस पछि कुनै त्रुटी भएको भए पुनः फाराम भरी थप दस्तुर तिर्नु पर्ने हुँदा विशेष ध्यान दिनु होला ।
विभागमा विद्युतीय राहदानी बनाउन कति समय लाग्छ ?
सामान्य अवस्थामा अनलाइनबाट फाराम भरी बुक गरेको मिति र समयमा गएर लाइभ इन्रोलमेन्ट गरे पछि दुई कार्य दिन लाग्छ । पछाडिको बुकिङलाई अगाडि ल्याउन सकिने छैन । त्यसैले विदेश जाने समयलाई पूर्व आकलन गरेर यथासमयमा नै इनरोलमेन्टको लागि समय बुक गर्नु होला ।
नागरिकता, राष्ट्रिय परिचयपत्र, पुरानो राहदानीसँग विवरण रुजु नभएमा, थप अनुसन्धान गर्नु पर्ने भएमा, ICAO को मापदण्डअनुसार तस्विर आदि नभएर प्रणालीले स्वीकार नगरेमा राहदानी बनाउन थप समय लाग्ने हुन्छ । त्यसैले राहदानी हातमा नपरेसम्म टिकट बुक गर्ने वा भ्रमण तय गर्ने कार्य नगर्नु होला । संकलन गर्न तयारी भएको एसएमएस आए पछि आफूले लाइभ इन्रोलमेन्ट गर्न बुकिङ्ग जुन समयमा गरेको हो सोही समयमा मात्र लिन आउनु होला । सामान्यतया दुई कार्य दिन भित्र एसएमएस आउंछ । यदि रिजेक्ट भयो भने कारण बताइएको हुन्छ । सोहीअनुसार गर्नु होला । दुई कार्य दिन भित्र कुनै पनि एसएमएस नआएमा निवेदन अनुसन्धानमा गएको हुन्छ । करिब चार पाँच दिन धैर्य गर्नु होला ।